Sunday, February 28, 2016

आयल निगममा बोनस नबाँड्न मन्त्रीको अर्को निर्देशन
काठमाडौं– आपूर्ति मन्त्री गणेशमान पुनले नेपाल आयल निगमका कर्मचारीलाई बोनस नबाँड्न अर्को निर्देशन दिएका छन् । आयल निगमका निमित्त प्रमुख तथा नायव कार्यकारी निर्देशक शुशिल भट्टराईलाई टेलिफोन गरी तत्काल बोनसको प्रकृया रोक्न निर्देशन दिएका हुन् ।
ganeshmanबोनस लिन आयल निगमका कर्मचारीले प्रकृया शुरु गरेको समाचार आएपछि मन्त्रीले निगमसंग यसबारे जानकारी लिँदै बोनस बाँड्ने प्रकृया अगाडी नबढाउन निर्देशन दिएका हुन् । आयल निगमको वार्षिक उत्सवको समयमा पनि बोनस बाँड्ने कुरा आएपछि मन्त्रीले बोनस नबाँड्न निर्देशन दिएका थिए । ‘यो आपूर्ति असहज भएको अवस्थामा बोनस लिनु उपयुक्त हुँदैन भनेर पहिला पनि निर्देशन दिएको हो, तर अहिले फेरी समाचार आयो’ मन्त्री पुनले भने ‘त्यसैले यो तत्काल रोक्नका लागि निर्देशन दिएको हो ।’
मन्त्री पुनले निगमलाई बोनस लिने प्रकृया शुरु गरेको भनेर सञ्चारमाध्यममा आएको समाचारको विषयमा पनि स्पष्ट पार्न निर्देशन दिएका छन् । सरकारको निर्देशन नमानेर बोनस बाँड्न प्रमुख राजनीतिक दल निकटका कर्मचारीहरु लागि परेको भन्ने कुरा सार्वजनिक भएकोले यस विषयमा तुरुन्त सार्वजनिक रुपमा स्पष्ट पार्न मन्त्रीले निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशन पछि बोनसको विषयमा प्रष्ट पारेर निगमले आज प्रेस विज्ञप्ती निकाल्न लागेको निगम श्रोतले बताएको छ ।
सरकारको ऋण तिर्न नसकेको आयल निगममा कर्मचारीको बोनस खाने विषय पहिला देखि नै विबादित हुँदै आएको छ । आर्थिक वर्ष २०६५÷६६मा झन्डै पाँच अर्ब नाफामा जाँदा निगमले एक करोड ७१ लाख ५८ हजार चार सय पाँच रुपैयाँ बोनस बाँड्ने निर्णय गरेपनि संञ्चित नोक्सानी भएको सरकारी संस्थाले बोनस बाँड्न नपाउने निर्णय अर्थमन्त्रालयले गरेपछि रोकिएको थियो । तर सरकारको निर्देशन नमानेर कर्मचारीको दबाबमा दुई वर्षअघि निगमले बोनस बाँडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तात्कालिन कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहितका २० जना कर्मचारीलाई भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको थियो । पछि कर्मचारीले बोनस रकम फिर्ता गरेका थिए ।
यसपटक पनि अन्तराष्ट्रिय बजारमा घटेअनुसार तेलको मूल्य समायोजन नगरेको र सरकारलाई १२ अर्व ऋण तिर्न बाँकी रहेको बेला निगमका कर्मचारीले बोनस खाने तयारी गरेका हुन् ।
निगमका नायव कार्यकारी निर्देश भट्टराईले भने आफूहरुले गएको पुसमै बोनस नखाने निर्णय गरेकोले सञ्चार माध्यममा आएको कुरा जायज नभएको बताए । ‘सरकारको निर्देशन पछि हामीले गएको पुसको अन्तिमसाता नै बोनस नखाने भनेर निर्णय गरीसकेका छौँ ।’ उनले भने ।


No comments:

Post a Comment